Logo २०८२ फाल्गुन २१ बिहिबार
एक सातामै बिक्यो ६० टन क्वाँटी

एक सातामै बिक्यो ६० टन क्वाँटी


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
1.5K
SHARES

जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।

श्रावणशुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा मनाइन्छ । यस दिन रक्षा बाँधिन्छ, नयाँ जनै लगाइन्छ र मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी, बकुल्लालगायत ९ प्रकारका गेडागुडीको मिश्रणलाई भिजाएर टुसा उमारेर क्वाँटी खाने प्रचलन रहेको छ । क्वाँटी खासगरी नेवारी समुदायमा प्रचलनमा रहे पनि अहिले धेरैले क्वाँटी खाने गरेको पाइन्छ । यसरी क्वाँटी बनाएर खाँदा मधुमेह, बाथ, मुटुरोगलगायत पेटको रोगबाट समेत छुटकारा पाइने जनविश्वास रहिआएको छ ।

कोरोना महामारीका कारण गाडीको ढुवानी भाडा, मजदूरको पारिश्रमिक आदि कुराहरू बढेकाले अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष क्वाँटीको मूल्य पनि बढेको व्यापारीहरू बताउँछन् ।

विभिन्न थरीका गेडागुडी मिसाएर बनाइएको क्वाँटीको सेटको मूल्य अहिले बजारमा प्रतिकिलो १ सय ९० देखि २ सय ५० रुपैयाँसम्म पर्ने गरेको संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले आर्थिक अभियान दैनिकसँग बताए । यस अघि यसरी बनाइएको सेटको मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उनी बताउँछन् ।

उनका अनुसार त्यसमा मिसाइएका गेडागुडीको प्रकार र त्यसको गुणस्तरअनुसार मूल्य तोकिएको हुन्छ । ‘कसैकसैले १२÷१५ किसिमका गेडागुडी पनि मिसाएकाले मूल्य धेरै पर्छ,’ उनले भने ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष हरियो केराउको मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेर ९० रुपैयाँबाट १ सय ४० रुपैयाँ पुगेको छ । सेतो केराउको मूल्य प्रतिकिलो ७० रुपैयाँबाट बढेर १ सय रुपैयाँ सम्म पुगेको छ । त्यसैगरी चना, सिमी, मासलगायत अन्य गेडागुडीको मूल्य पनि गत वर्षको तुलनामा प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म बढेको संघले जानकारी दिएको छ ।यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

पहिलेपहिले काठमाडौं उपत्यकाका नेवार समुदायले मात्रै क्वाँटी बनाएर खाने प्रचलन भए पनि पछिल्लो समय देशैभर क्वाँटी खाने प्रचलन बढेर गएको बताइन्छ । सबैजसो समुदायमा क्वाँटी खाने प्रचलन बढेसँगै विगतका वर्षहरूमा भन्दा पछिल्ला दिनमा क्वाँटीको खपत पनि बढ्ने गरेको सरोकारवालाहरू बताउँछन् । उनीहरूका अनुसार व्यापारीहरूले पनि जनै पूर्णिमाकै लागि भनेर महीनौं दिन अघिदेखि नै क्वाँटीको जोहो गर्न थाल्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend