Logo २०८२ फाल्गुन २१ बिहिबार
रवीन्द्र मिश्रको पार्टीमा खल्लबल्ल, पार्टी फुटाउन लागेको आरोप लाग्यो

रवीन्द्र मिश्रको पार्टीमा खल्लबल्ल, पार्टी फुटाउन लागेको आरोप लाग्यो


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८
526
SHARES

काठमाडौं, १६ भदौ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र पार्टी विभाजनको गतिविधिमा लागेको आरोप लगाएका छन् ।

एकताको महाधिवेशन अघिसम्म अध्यक्ष र संयोजक दुवैको सहमतिमा बैठक बोलाउनु पर्ने विधानमा व्यवस्था भए पनि मिश्रले एकलरूपमा बैठक बोलाएर पार्टी विभाजनको बाटो लिएको आरोप पाण्डेको छ ।

‘दुवै पार्टी एकीकरणका लागि बनाइएको विधानको धारा २० मा महाधिवेशनसम्म अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने उल्लेख छ,’ पाण्डेले न्युज कारखानासँग भने, ‘तर संयोजकको सहमति बिना नै उहाँले एकलरूपमा बैठक बोलाउनु भयो, जुन अधिकार उहाँलाई छँदै थिएन ।’

उनका अनुसार एकीकरणको मर्म, उद्देश्य तथा विधानविपरीत बैठक आह्वान गरेर पार्टीलाई विभाजन गराउने काम मिश्रले सुरुवात गरेका छन् । ‘विधानविपरीत हुने गरी सहमति बिना नै एकलरूपमा बैठक बोलाउनु भनेको पार्टी विभाजन गराउनु हो, उहाँले पार्टी विभाजन गराइसक्नु भएको छ,’ पाण्डेको थप आरोप छ, ‘उहाँले विधानविपरीत बैठक बोलाएपछि बाध्य भएर मैले पनि बैठक आह्वान गर्नु परेको हो ।’

पाण्डेले विधानको व्याख्या गर्ने अधिकार अध्यक्षलाई नभई संयोजकलाई दिएको पनि दावी गरेका छन् । ‘पार्टी विधानको धारा ६३ मा विधानको व्याख्या गर्ने अधिकार अध्यक्षलाई होइन, संयोजकलाई दिएको छ तर मिश्रजीले आफूखुसी व्याख्या गरेर एकताको मर्ममा प्रहार गर्नु भएको छ,’ उनले भने । उनका अनुसार मिश्रले पार्टीको उद्देश्यमाथि पनि कुठराघात गरेका छन् ।

गत २५ मंसिरमा तत्कालीन साझा र विवेकशीलबाट ६५/६५ जना केन्द्रीय समिति सदस्य रहने गरी एकीकृत भएका थिए । तर, एकीकरण भएको एक वर्ष नपुग्दै मिश्र र पाण्डे दुवै पक्षले अलग-अलगरूपमा १७ भदौका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका छन् ।

मिश्रले एकल रुपमा संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने नयाँ धारणा सार्वजनिक गरेपछि विवेकशिल साझामा विवाद बढेको थियो । पाण्डे समूह भने राजनीतिकरूपमा उपलब्ध संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा उभिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend