Logo २०८२ फाल्गुन १९ मंगलबार
सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री

सप्तकोसीको कटानले चार हजार परिवार उच्च जोखिममा, निरीक्षण गरेर फर्किए गृहमन्त्री


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र २० २०७८
722
SHARES

उदयपुर, २० भदौ – उदयपुर र सुनसरी भएर बग्ने सप्तकोसी नदीले १० दिन अघि धार परिर्वतन गरेपछि चार हजार घरपरिवार उच्च जोखिममा परेका छन् । बाढीले बेलका नगरपालिका-८ लाहुरे खोँचमा कटान गरेको हो ।

कटानले बेलका- २, ३, ८ र ९ र बराहक्षेत्र नगरपालिका-६ सहितका सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोचि, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष क्षेत्रका घरपरिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीले ६ सय मिटर कटान गरिसकेको छ, भने दुई सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भएमा बाढी बस्तीमा पस्न सक्ने बेलकाका मेयर दुर्गाकुमार थापाले बताए । कटानले बराहक्षेत्र-६ चिलिया टप्पुमा रहेको बाल सेवा, जनता र कौशिका आधारभूत विद्यालय तथा बेलका-३ मा रहेका सरस्वती आधारभूत विद्यालयसहित दुई वटा स्वास्थ्य संस्था विस्थापित भइसकेका छन् ।

सप्तकोसीले पश्चिमतर्फ कटान तीव्र पारेपछि त्रास बढेको स्थानीय गिरिराज विश्वकर्माले बताए । चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुबै किनारामा भारतले तटबन्ध निर्माण गर्ने सम्झौता छ । तर, सम्झौता अनुसार भारतले नदीका दुबैतर्फ तटबन्ध नबनाउँदा कटान बढेको स्थानीयको भनाइ छ ।

नदी कटान हेरेर फर्के गृहमन्त्री : गृहमन्त्री बालकृष्ण खाँणले शनिबार उदयपुर पुगेर नदी कटानको अवस्था बुझेका छन् । गृहमन्त्री खाँण पूर्वमन्त्रीद्वय शेरबहादुर तामाङ, मोहनबहादुर बस्नेत तथा गृहसचिव टेकनारायण पाण्डेसहितको टोली लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत उदयपुर पुगेका थिए ।

सो क्रममा उनले सनसुरी, सप्तरी र उदयपुरका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र स्थानीयसँग छलफल गरेका थिए । खाँणले कटान र डुबान रोक्न तत्काल उचित कदम चाल्न मातहतका निकायलाई निर्देशन दिए ।

मन्त्री खाँणसँग स्थानीयले वर्षेनि आउने बाढीबाट बच्न दीर्घकालीन तटबन्ध बाँध्नुपर्ने माग गरेका थिए । मन्त्री खाँणले बस्तीको हवाइ निरीक्षण पनि गरेका थिए । बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले गृहमन्त्री समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend