Logo २०८२ फाल्गुन १९ मंगलबार
मायाका लागि धन कमाउन जाने दुखीहरुको कथा हो ‘मायाले नै हो पियारी’

मायाका लागि धन कमाउन जाने दुखीहरुको कथा हो ‘मायाले नै हो पियारी’


Epress Khabar प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
2.4K
SHARES


यज्ञश पण्डित

संसारमा माया ठूलो कि धन भन्ने प्रश्न धेरै अघिदेखि चल्दै आएको छ । निजी सम्पतिको संग्रह र त्यसको संरक्षण तथा आफ्नो शेषपछि उपभोगका लागि उत्तराधिकारीको खोजी थालिएसँगै धनको महत्व बढेको मानिन्छ । मानिसले आफूले उपभोग गर्नेभन्दा बढी उत्पादन गर्न थालेपछि जब संचय र विनिमयको युग सुरु भयो त्यसपछि मानिसको सामाजिक जीवन जटिल बन्न पुगेको मान्ने गरिएको छ । त्यही धनले र धनका लागि निर्माण गरिएका सम्बन्धको जञ्जालमा मानिस दह्रैसँग जकडिएको छ ।

विपरित लिंगीप्रतिको आकर्षण र सन्तान उत्पादनको नैसर्गिक गुण (जुन जनावरहरुमा पनि हुन्छ) बाहेक जब सांस्कृतिक प्राणीका रुपमा मानिसको जीवन सुरु भयो त्यसैसँगै त्यो आकर्षणलाई अनेक रुप र स्वरुपमा मानिसले ग्रहण गर्दै आएको छ । कपास बुनेर कपडा बनाएजस्तै मानिसले आफ्नो सम्बन्ध र भावनाहरुलाई पनि अनेक स्वरुपमा बुनेर पहिरिदै आएको छ । प्रेमसम्बन्धलाई कतै स्वतन्त्रता र प्रगतिसँग जोडिन्छ भने कतै विवाहको आवरणमा यसलाई ढाक्ने पनि गरिन्छ । पुँजिवादको विस्तार र स्वतन्त्रताको व्यापाक उपभोगको मागसँगै प्रेमलाई नयाँ युगको प्रगतिशील सम्बन्धका रुपमा परिभाषित गर्न थालियो । र, यसले परम्परागत परिवार र समाजमा विद्रोहको रुप धारण ग¥यो ।

आजको समयलाई सरसर्ती हेर्दा मानिसका लागि यी दुवै चिज उत्तिकै आवश्यक लाग्छन् । कुनै एकको कमिमा जीवन असन्तुलित वा असहज हुनेजस्तो देखिन्छ । भौतिक प्रगतिले मानिसलाई पैसाको दास बनाउँदै लानु एउटा पक्ष हो तर एउटा ठूलो वर्गले आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेर दुखमा जीवन बिताउनु परेको पनि अर्को यथार्थ हो । यसैले धनले पुगेका मानिसले अरुलाई धन नकमाउ भन्नु वा धन व्यर्थको चिज हो भन्नु र दिनभरी मजदुरी गरेर चामल किन्नलाई हातमा पैसा लिएको मजदुरले धनको महत्व छैन भन्नु दुई फरक कुरा हुन् । (भावनामा बहिकएर वा दार्शनिक अर्थमा यसकाे पछि नलाग भन्रुचाहिँ फेरि फरक कुरा) पैसाको धेरै दानवीकारण र प्रेमको बढी नै महिमामण्डनबारे चैतन्य मिश्रजस्ता समाजशास्त्रीले बेलाबेला प्रकाश पार्दै आएका छन् ।
यो सब भूमिका हो ।

मुख्य कुरामा अब प्रवेश गरौं । यो प्रसंग झिकेको मैले एउटा गीतबारे कुरा गर्नलाई हो । गीत हो– जोसेफ शाही ठकुरीको ‘मायाले नै हो पियारी…।’ भ्वाइस अफ नेपालमा धमेन्द्र सुनारले गाएपछि मैले यो गीत सुनेको हुँ । र, ओरिजिनल गीत खोज्दै जाँदा युट्युबमा केही महिनाअघि अपलोड भएको यो गीत भेटियो । अहिले त यसको फिमेल भर्सन बिशाखा शाहीको स्वरमा समेत सुन्न पाइन्छ । यी दुवै गीतको म्युजिक भिडियो पनि छन् । सुदूरपश्चिम क्षेत्रको देउडा शैलीको यो गीतले निकै मार्मिक शब्दमात्रै होइन भाका पनि त्यस्तै लिएको छ । गीतका गेडामा कताकति खस भाषाका शब्द र उच्चारणमा त्यो लवज पनि मिसाइएको छ । तर, यो परम्परागत रुपमा खेलिने देउडा भने होइन । यसको बिट र टोन दुवै देउडाभन्दा फरक छ । यसैले पनि सायद यो गीत आम देउडाभन्दा भिन्न भएर ठूलो स्रोता समूहसम्म पुग्न सफल भएको पनि होला ।

यसका दुवै भर्सनका भिडियो हेर्दा मलाई झट्टा दुइटा कृतिको सम्झना भयो– एउटा महाकवि देवकोटाको कृति ‘मुनामदन’ र अर्को हेमन्त रानाले गाएको गीत ‘साइली’ । तपाईंलाई यी दुई कृतिलाई एकै लहरमा राख्दा अनौठो लागेको छ भने एकछिन पर्खनुस् । मलाई यसलाई जस्टिफाइ गर्नेछु । मुनामदन, साइली र पियारीमा केही समानता छन्– यी तीनवटै कृतिले आआफ्नो समयमा मायाका लागि धन कमाउन जाने दुखीहरुको कथा भन्छन् ।
मुनामदनको मदन धन कमाउनका लागि भारी मनले भोट (तिब्बत) जान्छ । तिब्बतमा बेसरी धन छ, त्यसबाट केही लिएर आउँला । साहुको ऋण तिरौंला । आमाको हेरविचार गरौंला र आफ्नी प्यारी मुनासँग सुखका साथ बसौंला– मदनको मनसुवा यही थियो ।

साइँलीमा चालीस कटेसी रमाउने वाचा पनि त्यही हो । यसमा साइला धन कमाउन भोटको साटो कतार–मलेसिया पुगेको छ । भुगोलको फरक छ, यसले गर्दा संस्कृतिको फरक छ । तर, मूल उद्देश्य उही छ– मायाको बाटोमा धनको अभावले उब्जाएका व्यवधान हटाउने † साइला र साइलीको पनि मनमा एउटै कुरा छ– लागेको ऋण तिरेर सुखका साथ बसौंला ।

र, पियारीको पनि कथा त्यही हो । काठमाडौंको एउटा ग्यारेजमा मोटर मेकानिकका रुपमा काम गर्ने र ‘घर फिर्ने बेला मेरो हुनै लाग्या को छ’ भन्दै औंला भाँच्ने यो केटाको पनि सपना त्यही छ– ‘साहुको ऋण तिरौंला, नचुहिने छानो हालौंला अनि सुख फल्ने आलीमा दुखको दाँईं हालौंला ।’
यसमा चाहिँ कथानायक रोजगारीको खोजीमा काठमाडौं आउँछ । जबकि, मुनामदनको नायक काठमाडौंबाट धन कमाउन भोट जान्थ्यो । अर्थात्, धन कहाँ छ भन्नेमात्र होइन, गरिब कसरी झन् झन् टाढा धकेलिँदै छन् भन्ने पनि यो तुलनाबाट देखिन्छ । पहिले काठमाडौंबाट धन कमाउन भोट जान्थे, पछि गण्डकी प्रदेशको कुनै गाउँबाट नायक धन कमाउन खाडी हिँड्यो र अब हाम्रो गीतको नायक बाजुरा–बैतडीबाट धन कमाउन काठमाडौं ओर्लिएको छ । यसरी हेर्दा हामीले गरिबीलाई हटाएका छैनौं, खाली पन्छाएका मात्रै छौं ।

जनसंख्या वृद्धि, प्रशासनको बढ्दो प्रभाव र कुशासनको फैलावटसँगै गरिबी पनि केन्द्रबाट परिधीतिर फैलिएको हो कि ? शक्तिचाहिँ स्थानीय तहबाट केन्द्रतिर तानिदै आउने र अभावचाहिँ केन्द्रबाट बाँडिने भएको हो कि ? (मुगुलगायतमा बाँडिने चामललाई लिएर पनि यस्तो भनिने गरिएको छ । सरकारले स्थानीय खाद्यान्नलाई बढावा नदिएर चामलमात्रै कृत्रिम भाेकमरी सृजना गरेको आरोप पनि छ ।)महिलाले गाएको यही गीतको भिडियो झन् विरही छ । घाँस काट्न हिँडेका तीन युवतीहरुको एकोहोरो मनोदशा यो गीतले दर्शाउँछ । जो धन अभावले गर्दा उत्पन्न भएको विवशतामा ‘वैंश खेर गइगयो’ भन्दै सुस्केरा हाल्न अभिशप्त छन् । साह्रो स्वच्छ हावा, निश्चल मन र अर्गानिक खानाले भरिएको भनिने गाउँमा किन यी युवतीहरु खुशी र चञ्चल छैनन् ? के दूर देशमा कमाउन हिँडेका प्याराको प्रेम काफी छैन ? के जीवनमा प्रेम त्यति धेरै महत्वपूर्ण कुरा होइन, जो १६–१७ वर्षको उमेरमा लाग्छ ?
….

अब यसैमा राजनीतिलाई जोडौं । हुन त, राजनीति भन्नासाथ अहिले चन्द्रागिरीमा जम्मा भएका सांसद् र पुरानै धारमा फर्किएका विद्रोही तेस्रो धारको भंगालोको कुरा आउँछ । अर्काको पार्टी फुटाएपछि अब आफ्नै समीकरण बिग्रेला भन्ने डरले अध्यादेश निष्क्रिय बनाउन लागिपरेको ‘लोकतान्त्रिक, सामाजवादी र अग्रगामी’ सरकारको कुरा आउँछ । कुनै चौथाईवालेलाई प्रधानमन्त्री पत्नीले राखी बाँधेको कुरा आउँछ । वा जनमत संग्रहको तालमा नाचिरहेका वैकल्पिकहरुको सम्झना आउँछ । तर, मैले त्यो राजनीतिको कुरा गरिरहेको छैन । मैले कुरा गरेको राजनीति पञ्चायतको ३० र बहुदलको ३० वर्षगरी नेपालमा विकासको नारा लगाउन थालिएको दिव्य ६० वर्षको हो ।

यो ६० वर्षको विकासको राजनीतिले कसको विकास ग¥यो ? के विकास ग¥यो ? किन हाम्रो नायक अझै पनि रोजगारी र धन खोज्दै घर छोडेर हिँड्न विवश छ ? किन हाम्रा नायिकाहरु अझै एक्लो छिंडीमा प्यारालाई पर्खिएर बस्न अभिशप्त छन् ? वा किन ससाना बच्चाहरु इजरायल र कुवेत हिँडेकी आमालाई केवल म्यासेन्जर र ह्वाट्सएपमा मात्र चिन्दछन् ? किन धनुषा र सर्लाहीबाट पासपोर्ट बोकेर हिँडेका युवाहरु एयर अरेबियामा ‘अंग्रेजीमा फर्म भरिदिने मान्छे को भेटिएला ?’ भनेर हेर्दै छन् ? विकासको मूल फुटेको यत्रा वर्षमा धनको बाढी किन आएन ? वा त्यो केही सीमितको आँगनमा मात्रै आयो कि ?

यही समयमा अर्को गीत पनि सुनें– ‘रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा ।’ यो गीतले हुम्लामा भने अहिलेसम्म मोटर नपुगेको, सिटामोल नपाएर मानिसहरुले ज्यान गुमाएको र बच्चाहरु तुइनँ चढेर स्कुल जानु परेको कुरा उठाउँछ । सामान्यतया ः आधुनिक वा पप गीतको कोटीमा पर्ने यी गीतहरुले खाली मायाको मात्रै कुरा नगरेर, समाज, विकास र असमानताका कुरा पनि उठाएका छन् । कतै भने रेल पुग्दैछ, कतै अहिलेसम्म सिटामोल पुगेको छैन । विकासको वितरणमा यो असमानता किन ? यस्तो प्रश्न गीतले उठाएको छ ।

योसँगै विकासको अवधारणामाथि नै प्रश्न उठिरहेको छ । विकास भनेको के हो ? के विकास भनेको मोटरबाटो, खानेपानीको सुविधा वा हवाइजहाज हो ? के मानिसको जीवनमा यसले मात्रै विकास ल्याउँछ ? वा हिजो जमिन्दारकहाँ दुई छाक भातका लागि काम गर्ने मान्छेले आज त्यसको साटो एक सय रुपैयाँ क्यास पाउनुचाहिँ विकास हो ? कि मानव विकास सुचकांकले विकासबारे बोल्छ ? के मान्छेको समग्र स्वाभिमानको विकासको अर्थ छैन ? बैतडीबाट काठमाडौंको मोटर ग्यारेज आएर काम गर्ने, खोल नहालेको सिरक ओडेर एउटा खाटमा तीनजना सुत्ने युवाले थोरै पैसा हात पार्दा के उसको मन मतिष्कमा कुनै गर्वको भाव आउला ? वा रेगिस्तानको गर्मीमा पसिना चुहाउने युवाको फुलेको सासमा राष्ट्रियताले सास फेर्ला ?

हाम्रो विकास र राजनीतिले धन र प्रेमका बीच रहेको खाडललाई पुर्ने काम किन गर्न सकिरहेको छैन । बरु, युवाहरुलाई आफ्ना प्रेमि–प्रेमिकाबाट झन् झन् टाढा पु¥याइरहेको छ । के राजनीति प्रेमको दुश्मन बनेर निस्किदै छ ? यसैले प्रश्न धन र प्रेममा कुन ठूलो भन्ने नै होइन कि ? यो प्रश्नमाथि नै एकपटक प्रश्न गरेर हेर्नुस् है ! नोट ः पहिले म ‘फ्रि–स्टाइल’ कोसेलीमा लेख्थें । अहिले सबै पत्रिका वा अनलाइनले पनि सबै कुरा फेसबुकमै सेयर गर्ने भएकाले मैले पनि यो फ्रि–स्टाइल यहीं राखेको हुँ । मुड चल्दा र मौका मिल्दा कुनै किताब, गीत, फिल्म वा कुनै प्रसंगबारे म यसमै लेख्ने छु ।
यसपछि अहिलेकाे अर्काे चर्चित गीत ‘चरी जेलैमा’ बारे लेख्नुपर्ला ! यो सामाग्री पत्रकार यज्ञशको फेसबुकबाट लिइएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend