Logo २०८२ फाल्गुन १९ मंगलबार
विभेद गरिएको भन्दै स्थानीय तहका कर्मचारीले प्रधानमन्त्रीलाई पठाए विरोध पत्र

विभेद गरिएको भन्दै स्थानीय तहका कर्मचारीले प्रधानमन्त्रीलाई पठाए विरोध पत्र


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
3.5K
SHARES

जाजरकोट, २२ भदौ – डोल्पाको स्थानीय तहमा कार्यरत कर्मचारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विरोध पत्र लेखेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगको केन्द्रीय कार्यालयलाई पत्र लेखेका हुन् ।

स्थानीय तहको सेवामा सेवारत कर्मचारीलाई संघीय मन्त्रालयले कर्मचारी नै नमानेर विभेद गरेकाले विरोध पत्र लेख्नु परेको स्थानीय तह कर्मचारी हकहित मञ्च जिल्ला संयोजन समिति डोल्पाले जनाएको छ ।

निजामती कर्मचारी र स्थानीय कर्मचारी बीच स्थानीय कर्मचारीलाई निजामती कर्मचारीको परिभाषाबाट बाहिर राख्दै आएको, सेवा सुविधाको सम्बन्धमा कुनै पनि नीतिगत व्यवस्था नै नगरिएको, वृत्तिपथको आधार सुनिश्चित नगरी अन्योलताको अवस्था सृजना गरिएको, सेवा प्रवेशकालिन तालिम लगायतबाट वञ्चित गराइएको, निजामती अस्पतालबाट पाइने सेवा सुविधाबाट वञ्चित गराइएको, स्थानीय तहको सेवारत कर्मचारीको सरुवा व्यवस्थामा कर्मचारीतन्त्रको उपहास गरी दुई पालिकाको सहमतिमा र पालिका प्रमुखको हस्ताक्षर अनिवार्य गरिएकोलगायत विभेद गरिएको पत्रमा उल्लेख छ ।

साथै लोकसेवा आयोगबाट सिफारिस भई स्थानीय तहको सेवामा सेवारत कर्मचारीलाई राष्ट्रिय किताबखानाले संकेत नं. दिएता पनि पीआईएस अपडेट नगरेको, सम्पत्ति विवरणलगायत व्यक्तिगत विवरणहरु अध्यावधिक नगरिएको, कार्यसम्पादन मूल्यांकन नीतिगत सुनिश्चिता नभई हचुवाको भरमा हुने, हालसम्म पनि स्थानीय तहको सेवामा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी कुनै कानुनी व्यवस्था नगरिएकोलगायत बुँदाहरु उल्लेख गरिएको छ ।

कर्मचारीबीच नै विभेदपूर्ण परिपत्र र नीतिगत निर्णय गर्ने परिपाटीले स्थानीय तहको सेवाप्रति कर्मचारीहरुमा नैराश्यता, हिनताबोध, वितृष्णा उत्पन्न भई यो सेवा दिन प्रतिदिन जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको पत्रमा बताइएको छ ।

जिल्लामा संघीय कर्मचारीले र्‍याली, प्रभातफेरि लगायतका कार्यक्रमहरु गरेर निजामती सेवा दिवस मनाए पनि स्थानीय तहका कर्मचारीले भने दिवस लक्षित कुनै पनि कार्यक्रम गरेनन् । गरिएका कार्यक्रमको बहिष्कार गर्नेसँगै हातमा कालोपट्टी बाधेर विरोध गरेका छन् ।

मंगलवारबाटै आन्दोलनका थप कार्यक्रमहरु अघि बढाउने जानकारी गराउँदै पत्रमा आफूहरुका माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend